ग्याल्पो ल्होसार

 ग्याल्पो ल्होसार

हिमाली क्षेत्र आसपासमा माटोहरूलाई खोस्रँदै, चौरी पाल्ने अनि मौसमसँग पौंठे जोरी खेल्ने हिमाली चिसो स्याँठ मा हुर्किएका शेर्पा लगायत अन्य उच्च भू-भागमा बसोबास गर्ने वौद्धमार्गी समुदाय आज ग्याल्पो ल्होसार मनाउँदै छन् । देवकोटाको मुनामदनको कथा देखि सरुभक्तको थाङ्गला सम्म, अनि विभिन्न विदेशी चलचित्रहरु क्याराभान, केहि वर्ष अघि प्रदर्शनमा आएको अङ्ग्रेजी भाषामा नेपालमा छायाङ्कन गरिएको चलचित्र एभरेस्ट जस्ता विश्व प्रसिद्ध चलचित्रहरू हिमाली भूभाग अनि जीवनशैलीका प्रतिरूपहरू हुन् ।

संसारको शिर भाग अर्थात् हिमाल वरपर हिमशैलको देश नेपालमा आज प्रकृति अनि हिमाल लगायत समग्र मानवता अनि शान्तिको कामना गरिँदै रङ्गीबिरङ्गी झन्डा अनि ध्वजा पताकाहरू अनि तिनमा अङ्कित शान्ति छर्ने मन्त्रहरू हिमालका तिनै चिसो हावाले दिने गतिका साथ फहराउने छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात् नयाँ, यो ग्याल्पो ल्होसारलाई हर्षका साथ स्वागत गरौँ । हुन त यो ग्याल्पो ल्होसार कुनै समुदाय विशेषसँग मात्र सम्बन्धित चाड त हैन, एउटा साझा उत्सर्गको साटासाट हो आज।

यस वर्षको ग्याल्पो ल्होसारको सबैलाई शुभकामना दिएर सुरु गर्न चाह्यौ आज ।

ल्होसार मनाउने समुदायमा ‘ल्होसार’ अर्थात् वर्षहरू बाह्र वटा हुन्छन् । ती वर्षका नामहरूलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ । मुसाबाट शुरु हुने वर्षहरू बँदेल वर्षमा पुगेर सकिन्छ । यस वर्ष चाँही बाघको वर्ष भएको बताइन्छ । पछिल्लो वर्ष गोरुको वर्ष थियो भनें यस वर्ष चाँही बाघको वर्ष हो ।

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले १५ दिनसम्म ग्याल्पो ल्होसार मनाउँदछन् । शेर्पा समुदायले ल्होसार सुरु हुनु एक महिना अघि नै आ-आफ्नो घर रङ्गाउने, फोहोरहरु फाल्ने, सफा गर्ने र नयाँ लुगाफाटो किन्ने गर्दछन् । उनीहरूले सम्बोटा लिपिलाई सेतो पिठो प्रयोग गरेर घरको खम्बा, भित्ता एवं दलिनमा टाँसी देलेकुु भन्ने वाक्यांश र अष्ट मङ्गलका चिन्हहरूले घर सजाउने गर्दछन् ।

तिन प्रकारका ल्होसारहरु मध्य हिमाली समुदायले मनाउने ल्होसारलाई विशेषतः ग्याल्पो ल्होसार भनिन्छ, तथापि यस ल्होसारमा अन्य समुदायहरूको पनि उत्कृष्ट समभाव अनि सक्रियता पाइन्छ । शेर्पा, तामाङ, गुरुङ, हुम्ली, मुस्ताङे अनि मनाङै लगायत अन्य धेरै समुदायको यो एउटा साझा ल्होसार हो ।

आजको ल्होसारको सबैभन्दा महत्त्वपूर्ण कुरा भने खाप्से हो । मैदाको पिठोबाट बनाइएको एक प्रकारको यो मिठाई आजको दिन विशेष परिकार हो, खाप्से खान नभुल्नु होला नि । हिमाली हावापानीको कुशल आङ्कलन गरेर आजका दिन उम्रिने गरी गहुँको बिउँ छरिएको हुन्छ, जसलाई लोपूलु भनिन्छ, यसरी उम्रिएको गहुँको टुसालाई आज नयाँ वर्षको नयाँ वाली का रूपमा लिइन्छ । यस वर्षभरि हिमालको हावापानीले हाम्रा हिमाली दाजुभाइ अनि दिदिवहिनी लाई साथ दिनेछन्, यी लोपूलहरुले सबैको कल्याण गरुन् ।

ल्होसारको यस विशेष साँझमा खाइने एउटा विशेष परिकार जो विभिन्न नौ प्रकारका अन्न मिसाएर तयार पारिएको हुन्छ त्यसलाई गुथुकु भनिन्छ । यो परिकारलाई आफन्त, नातागोता तथा इष्टमित्र र घर गाउँले मिलेर एक आपसमा खुसी साटासाट गर्दै बाँडेर खाने गर्दछन् । गुथुक पिठोको छुट्टाछुट्टै डल्ला बनाई त्यसभित्र बेग्लाबेग्लै सेतो कपडा, गहुँ, कागज, खुर्सानी, कोइला, घ्यू र नुन राखेर पकाइएको हुन्छ । उक्त गुथुकको डल्लालाई खाने बेलामा कसको गुथुकभित्र के पर्‍यो भनेर सबैले खोलेर हेर्दछन् । जसमा सेतो कपडाको टुक्रापर्यो भने उसको मनोकामना पूरा हुने, गहुँ परेमा धन सम्पत्ति बढ्ने, कागजको टुक्रा परेमा विद्वता बढ्ने, खुर्सानी परेमा खरो स्वभावको हुने, कोइला परेमा कपट स्वभावको हुने, घ्यू परेमा चिप्लो स्वभाव हुने र नुन परेको खण्डमा बनेका योजनाहरू सफल हुने मान्यता शेर्पा समुदायमा रहेको छ ।

आँगन अनि घरको छत लगायत गुम्बा अनि चैत्यहरूमा भएका पुराना ध्वजाहरूलाई आज परिवर्तन गरिन्छ । हिमालका हावाहरूले मन्त्र लेखिएका यी कपडाका ध्वजाहरूलाई हल्लाउँदा एउटा अदभूत सङ्गीत भर्दछ । यी झन्डाहरूले संसार भरी शान्तिको एउटा अद्वितीय कामना अभिव्यक्त गर्दछन् । यस्ता झन्डाहरूका बारेमा केही थप जानकारी प्रस्तुत गर्‍यौँ । लामो लट्ठी या आडमा राखिएका एकनासको तलदेखि माथीसम्मको एउटै झन्डालाई दार्चोर भनिन्छ । अनि लामो डोरीहरूमा ससाना चारकुने झुन्डाइएका झन्डाहरूलाई भने लगंता भनिन्छ, तिब्बतीय भाषामा यसको अर्थ हवाई घोडा हो ।

एक किंवदन्ती अनुसार भगवान् बुद्धले बुद्धत्व प्राप्त गरेपश्चात् धर्म प्रचार गर्दै देवलोक पुग्छन् । देवलोक पुग्दा देवता र असुरहरूबिच लडाइँ भईरहेको थियो । तर लडाँईमा देवताहरू असुर सँग पराजित हुन्छन् । त्यहि बेला भगवान् बुद्धले ल्हयी ओङ्बु ग्याचेन भगवान इन्द्रु का माध्यमबाट विजय शक्ति मन्त्र अर्थात् ग्याल्जेन चेमु दिन्छन् । त्यहि मन्त्रको प्रभावले देवताहरूले असुरहरूलाई पराजित गर्छन् । यस विश्वासका आधारमा शेर्पा समुदायमा ग्याल्जेन चेमु मन्त्र लेखिएको लगंता घरघरमा टाङ्गने प्रचलन सुरु भएको मानिन्छ ।

ग्याल्पो ल्होसारलाई ह्याल्मो ल्होसार पनि भन्ने गरिन्छ, तर दुवैको अर्थ भने एकै हो । आज नयाँ लुगा लगाउने र पानीका मुहानहरूमा गएर नाग देवताको पूजा गर्ने गरिन्छ । पूजा गरेपछि त्यहाँबाट ल्याइएको पानीले घरका कुलदेवताकलाई चढाउने गरिन्छ । साथै यस अवसरमा मिठो मसिना खानेकुराहरू खाई नाचगान गर्दै रमाइलो गरिन्छ । यो चाड नेपाल सहित चीन, मङ्गोलिया, बर्मा सिक्किम, भुटान लगायतका देशमा पनि मनाइन्छ । ग्याल्पो ल्होसार राष्ट्रिय पर्व भएकाले आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

खाप्सेको स्वाद झैं गज्जब अनि ध्वजाहरुजस्तै शान्त र रङ्गिन हाम्रो जीवनमा शान्ति अनि सद्भावले यस वर्ष बास गरोस्, ग्याल्पो ल्होसारको शुभकामना ।


Comments

Popular posts from this blog

सिक्किमकी बबिता थापा मगर नेपाल आइडल सिजन ६ की उप विजेता बनिन

सुशीला कार्की को नेपाल की अंतरिम प्रधानमंत्री नियुक्त किया गया Gen Z आंदोलन को वीडियो दृश्य

दिवंगत पवित्र आत्मा स्व. श्री दीपक शर्मा जिऊ को लागी श्रद्धांजलि अर्पित गर्ने 9 September 2025 म तेह्रौँ दिनको पूजा–पाठ एवं संस्कार (तेह्रौँ) मा वहा को निवास स्थानम उपस्थित भई हामीसँग मिलेर आत्माको चिरशान्तिको लागि प्रार्थना गरिदिनुहोस।

उत्तराखंड में शिक्षा क्षेत्र में ऐतिहासिक कदम: अल्पसंख्यक शिक्षा प्राधिकरण के गठन का प्रस्ताव कैबिनेट से मंजूर Historic Step in Uttarakhand’s Education Sector: Cabinet Approves Formation of Minority Education Authority

हिमालय के एवरेस्ट बेस कैंप पर भारत और नेपाल के लोगों ने मनाया स्वतंत्रता दिवस